Press Release

सिद्धार्थनगर । २०७७ चैत्र २२ आइतबार ।

लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानद्वारा सिद्धार्थनगर स्थित भीम अस्पताल परिसरमा निर्मित लीलाराम न्यौपाने आकस्मिक कक्षको लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री शङ्कर पोखरेलले शीलापत्रको अनावरण तथा नवनिर्मित उक्त भवनको प्रवेशद्वारको रिबन काटेर एक समारोहबीच उद्घाटन एवम् सेवा शुभारम्भ गर्नुभयो ।

समाजसेवी लीलाराम न्यौपानेको ९२औँ जन्मजयन्तीका अवसरमा आयोजित सो समारोहमा प्रमुख अतिथि पोखरेलले भवनभित्र स्थापित लीलाराम न्यौपानेको सालिक अनावरण गर्नुभयो । कार्यक्रममा पोखरेलले समाजसेवी लीलाराम न्यौपाने र उहाँका सुपुत्रहरुद्वारा गरिएको यस किसिमको पुनीत कार्यले समाज लाभान्वित हुने जनाउँदै धन हुनेहरुले न्यौपाने परिवारबाट प्रेरणा लिनुपर्ने बताउनुभयो ।

प्रतिष्ठानद्वारा तीन करोड पच्चीस लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न उक्त भवनमा सम्पूर्ण उपकरण जडानसहितको पच्चीस शैय्या रहेको छ।

प्रतिष्ठानका अध्यक्ष शोभाकर (हरि) न्यौपानेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रतिनिधि सभाका सदस्य एवम् विपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक एवम् पूर्व मन्त्री बालकृष्ण खाँण, पूर्व मन्त्री दीपक बोहोरा, लुम्बिनी प्रदेश सभाका सदस्यद्वय डा. कृष्ण न्यौपाने र सन्तोष पाण्डे, रुपन्देही जिल्ला समन्वय समितिका प्रमुख तथा भीम अस्पताल विकास समितिका अध्यक्ष एकराज वि.क., सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारी, भीम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ता र यादव भट्टराईलगायतले समाजसेवी लीलाराम न्यौपानेको योगदानको चर्चा गर्दै उहाँ सिद्धार्थनगरको मात्रै नभएर राष्ट्रकै अनुकरणीय तथा प्रशंसायोग्य व्यक्ति भएको उल्लेख गर्नुभयो ।

प्रतिष्ठानका महासचिव विष्णु न्यौपानेले अतिथिहरुको स्वागत गर्दै समाजसेवी पिताले देखाउनुभएको बाटोमा हिँड्ने प्रयत्न गरेको बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष शोभाकर (हरि) न्यौपानेले भीम अस्पताल विकास समितिका अध्यक्ष एकराज वि. क. लाई नवनिर्मित आकस्मिक कक्ष (भवन) को साँचो हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा सिद्धार्थनगर नगरपालिकाका तर्फबाट प्रमुख हरिप्रसाद अधिकारीद्वारा समाजसेवी लीलाराम न्यौपानेकी धर्मपत्नी कुन्तीदेवी न्यौपानेलगायत सुपुत्रहरु शोभाकर (हरि), दुर्गा, विष्णु र शशि न्यौपानेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा कर्पोरेटको तर्फबाट विष्णु न्यौपानेले सुनवल नगरपालिकामा १५ शैय्याको अस्पताल निर्माण गर्नका लागि सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा क्षेत्रीलाई प्रतिबद्धतापत्र हस्तान्तरण गर्नुभयो ।

Add Comment

Your email address will not be published. Required fields are marked *