रुपन्देही लीलाराम न्यौपाने माविलाई पाँचकोठे भवन हस्तान्तरण

भैरहवा, ११ माघ ।

लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ नारायणस्थानस्थित श्री रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयलाई पाँचकोठे भवन हस्तान्तरण गरेको छ ।

६५ लाख २५ हजार रुपैयाँको लागतमा विद्यालयमा आवश्यक फर्निचरसहितको पहिलो तलामा निर्मित भवन हस्तान्तरण गरिएको प्रतिष्ठानका अध्यक्ष शोभाकर (हरि) न्यौपानेले बताए । प्रतिष्ठानको संरक्षक कुन्तीदेवी न्यौपानेको सहस्रचन्द्रदर्शन (चौरासी पूजा) को अवसर पारेर प्रतिष्ठानले निर्माण गरेको भवन विद्यालयलाई हस्तान्तरण गरिएको न्यौपानेले बताए । उनले भने, ‘विद्यालयको जति प्रगति हुँदै जान्छ, त्यति नै हामीलाई खुशी लाग्छ ।’

llll.jpg

प्रतिष्ठानका महासचिव विष्णुप्रसाद न्यौपानेले विद्यालयको शैक्षिक तथा भौतिक उन्नतिको कामना गरे ।

कार्यक्रममा बोल्दै व्यासाचार्य किशोर कुमार गौतमले स्व. लीलाराम न्यौपानेले रुपन्देहीसहित विभिन्न जिल्लामा महत्वपूर्ण योगदान रहेको बताए । उनले स्व. लीलारामले सहयोग गरेर निर्माण भएका विद्यालयमा करोडौंको अक्षयकोष स्थापना भएको बताए । उनले भने, ‘लीलाराम न्यौपानेले नेपालमा मात्र नभएर बर्मामा पनि योगदान रहेको पाइयो । लीलाराम न्यौपाने हामीमाझ नहुँदा अवश्य शून्यता छाएको छ । उहाँको पत्नी कुन्तीदेवी न्यौपाने र छोराहरुले निरन्तर सामाजिक क्षेत्रमा योगदान पुर्याइरहनुभएको छ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकराम ज्ञवालीले स्व. लीलाराम न्यौपानेले गरेका योगदानको जति प्रशंसा गरे पनि कमै हुने बताए । उनले लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानको अतुलनीय योगदान रहेको बताए । उनले भने, ‘यो योगदानको हामी मूल्यांकन र कदर गरिरहनेछौं । आगामी दिनमा पनि न्यौपाने परिवारबाट सहयोगको अपेक्षा राख्दछौं ।’

lila.jpg

विद्यालयका प्रधानाध्यापक रुप कुमार रायमाझीले लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले विद्यालयको भौतिक पूर्वाधार निर्माणका साथै शैक्षिक गुणस्तर सुधारका लागि अक्षयकोष स्थापना समेत गरेको बताए ।

वि.सं. २०१२ सालमा स्थापना भएको रुपन्देही लीलाराम न्यौपाने माविमा हाल २ हजार ३ सय ९४ जना विद्यार्थी अध्ययनरत छन् ।

News by:

logo