न्यौपाने परिवारद्वारा भानु माविलाई सटरसहितको भवन हस्तान्तरण

भैरहवा, ९ माघ ।


रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री भानु माध्यमिक विद्यालयलाई न्यौपाने परिवारले दुईवटा सटरसहितको भवन हस्तान्तरण गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा विश्व गायत्री स्मृति भवन एवं विश्व गायत्री गरीब तथा जेहेन्दार छात्रवृत्तिका संस्थापक कुन्तीदेवी न्यौपानेले उक्त भवन विद्यालयलाई हस्तान्तरण गरेकी हुन् ।

माता कुन्तीदेवी न्यौपाने र पिता स्वर्गीय लीलाराम न्यौपानेका छोरा विष्णु न्यौपाने प्रसाद न्यौपानेले रु. १० लाखको लागतमा दुई सटरसहितको भवन निर्माण गराउनुभएको श्री भानु माविका प्रधानाध्यापक मोतीलाल सुवेदीले बताए । उनले स्व. लीलाराम न्यौपानेबाट आफूले धेरै कुरा सिक्ने अवसर पाएको बताए । प्रधानाध्यापक सुवेदीले २०३३ सालमा स्थापना भएको श्री भानु माध्यमिक विद्यालयमा न्यौपाने परिवारको सहयोग रहदै आएको बताए ।

कार्यक्रममा बोल्दै विष्णु प्रसाद न्यौपानेले बुवा स्व. लीलाराम न्यौपानेले स्थापनाकालदेखि नै विद्यालयका लागि केही गर्नुपर्छ भन्ने सोचका साथ सहयोग गर्नुभएको बताए । उनले रुपन्देहीमा झण्डै २९ वटा विद्यालयमा कुनै न कुनै रुपमा सहयोग गरिएको जानकारी दिए । न्यौपानेले भने, ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा गर्नुपनेछ । विशेष गरी सरकारी विद्यालय र सरकारी अस्पतालमा नै सहयोग गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । ’ आगामी दिनमा पनि विद्यालयलाई सक्दो सहयोग गर्ने उनको भनाइ छ ।

बिहीबार सिद्धार्थनगर–८ स्थित रुपन्देही लीलाराम न्यौपाने माविलाई रु. ६५ लाखको लागतमा निर्मित ६ कोठे भवन हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

श्री भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फैज अहमद खानले विद्यालयलाई अझ राम्रोसँग सञ्चालनका लागि न्यौपाने परिवारले थप सहयोग गर्ने अपेक्षा गरे । उनले न्यौपाने परिवारको विद्यालयप्रति माया, ममता रहेको बताए । अध्यक्ष खानले विद्यालय र अस्पताल जस्ता पवित्र ठाउँमा सहयोग गर्नु महत्वपूर्ण कार्य रहेको उल्लेख गरे । 

News by:  खबर पात्रो